नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २०८ कम्पनीमध्ये, लगभग २० प्रतिशत कम्पनी वास्तविक क्षेत्रबाट मात्र छन् । नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा पुँजी बजारमा वास्तविक क्षेत्रका कम्पनीलाई प्रवेश गराउन जारी पुँजीको न्यूनतम १० प्रतिशतमात्र सार्वजनिक निष्काशन गरे पुग्ने र प्रिमियम मूल्यमा सार्वजनिक निष्काशन गर्न सकिने सहुलियतपूर्ण व्यवस्था गरेपश्चात शिवम्ले आईपीओ जारी गर्न लागेको हो ।
बोर्डको अनुमति पश्चात कुल निष्काशनको २ प्रतिशतको दरले ८ लाख ८० हजार इकाई शेयर परियोजना प्रभावित स्थानीय मकवानपुर जिल्लाका बासिन्दाका लागि ३ सय रुपैयाँ र १० प्रतिशत अर्थात ४४ लाख इकाई शेयर सर्वसाधारणको लागि ४ सय रुपैयाँमा जारी गर्ने भएको हो ।
कम्पनीले प्रिमियमसहित कुल २ अर्ब २ करोड ४० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ । जसमध्ये सर्वसाधारणलाई १ अर्ब ७६ करोड तथा परियोजना प्रभावित स्थानीयको लागि २६ करोड ४० लाख रुपैयाँको आईपीओ बिक्री गर्नेछ । क्रेडिट रेटिङ गर्ने संस्था इक्रा नेपाल लिमिटेडले कम्पनीको शेयरलाई क्रेडिट रेटिङ ग्रेड थ्री प्लस प्रदान गरेको छ । सरकारले गत वर्ष बजेटको माध्यमबाट उत्पादनमुलक उद्योगका लागि १५ प्रतिशत आयकर छूट प्रदान गर्ने निर्णय गरेको थियो ।
सन् २०१८ र २०१९ को बजेटले वास्तविक सेक्टर कम्पनीहरूलाई १ अर्ब वा बढीको साथ शेयर बजारमा सूचीबद्ध गर्न प्रोत्साहित गरेको थियो । बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ लागू गरी प्रिमियमसहितको मूल्यमा सार्वजनिक निष्काशन गर्न सकिने र जारी पुँजीको न्यूनतम १० प्रतिशतमात्र सार्वजनिक निष्काशन गरे पुग्ने सहुलियत दिएको थियो ।
कम्पनीको सञ्चालक समितिको अध्यक्षमा सुरेन्द्र कुमार गोयल रहेका छन् भने अन्य सञ्चालकहरूमा अमित मोर, सन्दीप कुमार शारदा, रघु नन्दन मारु र रोहित गुप्ता रहेका छन् ।
कम्पनी प्रोफाइल
सन् २००३ मा स्थापना भएको शिवम् सिमेन्ट मुलत सिमेन्ट तथा क्लिंकर उत्पादन र बिक्री गर्ने गर्दछ । विभिन्न व्यावसायिक घराना गरी कुल २० जना व्यक्तिगत प्रमोटर रहेको यस कम्पनीको कारखाना मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका हटियामा अवस्थित छ । कम्पनीद्वारा प्रकाशित वित्तीय विवरणअनुसार कम्पनीको दैनिक १९ सय टन क्लिंकर र ३ हजार टन सिमेन्ट ग्राइन्डिङ गर्न सक्ने क्षमता रहेको छ । कम्पनीको सहायक कम्पनी शिवम् होल्डिङ प्राइभेट लिमिटेडमा ८८ प्रतिशत शेयर लगानी रहेको छ ।
शिवम् होल्डिङ प्राइभेट लिमिटेड र चीनको होङ्सी होल्डिङ समूहले नवलपरासीको सर्दीमा स्थापना गर्न लागेको होङ्सी शिवम् सिमेन्ट प्रालिमा शिवम् सिमेन्टको सहायक कम्पनी शिवम् होल्डिङ प्राइभेट लिमिटेडमार्फत नेपाली समूहको ३० प्रतिशत र होङ्सी होल्डिङ चिनियाँ समूहको ७० प्रतिशत लगानी रहेको छ ।
चार अर्ब लगानीमा सात वर्ष अघि स्थापना भएको शिवम्ले ‘शिवम सिमेन्ट’ ब्रान्डमा ओपीसी ४३ ग्रेड सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ । पुँंजी, मानव संशाधन, उत्पादन प्रक्रियाहरू, इन्फ्रास्ट्रक्चरहरू आदिमा राम्रै लगानी गरेको कम्पनी सिमेन्ट निर्माण गर्ने नेपालको सबैभन्दा ठूलो मध्येको एक हो ।
हाल करिब एक हजार एक सय जना नेपाली कामदार कार्यरत तथा पाँच सय चिनियाँ नागरिक कार्यरत रहेको कम्पनीले नेपालीलाई चीनमा तालिमका लागि समेत पठाउने गरेको छ । दुई वर्ष अघिबाट निर्माण कार्य शुरु गरेको होङ्सी शिवम् सिमेन्टको निर्माण कार्य सम्पन्न भई उत्पादन समेत गरिसकेको छ । कारखानाका लागि आवश्यक पर्ने चुनढुंगा ल्याउन पाल्पाको भुकेटबाट विस्थापित भएका २६ घरपरिवारका लागि समेत कारखाना नजिकै सामूहिक आवास निर्माण गरिएको छ ।
सम्भावना तथा चुनौती
ओर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपीसी) संसारमा व्यापक रूपमा प्रयोग गरिएको मानिन्छ । ओपीसीलाई १९औं शताब्दीको शुरुमा बेलायतमा बनाइएको प्राकृतिक सिमेन्टबाट विकसित गरिएको थियो । सामान्यतया ओपीसी ग्रेडलाई ढलान र पीपीसी ग्रेडलाई प्लास्टर र स्केचको तथा भित्तामा प्रयोग गर्ने गरिन्छ । शिवम् सिमेन्टलाई राम्रो कम्पनी मानिनुको पछाडि प्रोफिट मार्जिन, हेरक वर्ष पुँंजी संरचनाको परिवर्तनले आर्थिक रुपमा सबल रहेको, लगातार हरेक वर्ष क्लिंकर तथा सिमेन्ट उत्पादनको क्षमता वृद्धि गर्दै लैजान् रहेको छ ।
त्यस्तै होंङ्सी शिवम् सिमेन्टको ग्रान्डिङ क्षमता र क्लिन्कर उत्पादन क्षमता प्रतिदिन ६ हजार टन हुनु तथा २६ प्रतिशतको लगानीले स्वतः नाफा आईरहनुले आगामी दिन पनि कम्पनी प्रगतिपथमा रहेको स्पस्ट गर्छ । प्रतिवेदनअनुसार मुलुकमा हरेक वर्ष सिमेन्टको माग बढेको देखिन्छ । यस कारणले पनि शिवम् सिमेन्ट आफंैमा रामो ब्रान्ड बनाउन सफल हुनु तथा अन्य सिमेन्ट भन्दा गुणस्तरीय रहेकाले छिटो समयमा राम्रो प्रतिफल दिने सम्भावना रहेको देखिन्छ ।
शिवम् सिमेन्टको शुरू संचालनको समयमा ग्रान्डिङ प्रतिदिन ७ सय टन क्षमताबाट आव २०१६ मा ५५ करोड थप लगानी गरी प्रतिदिन २३ सय टन पुर्याएको थियो । त्यस्तै २०१८ मार्चसम्म आउँदा ६५ करोड थप लागतमा प्रतिदिन ३ हजार टन पुगेको छ । सिमेन्ट बिक्रीतर्फ सन् २०१४ मा ६३ प्रतिशत बाट वृद्धि भएर सन् २०१५ मा ८३ प्रतिशतले बढेको थियो ।
सिमेन्ट उद्योगको संख्या वृद्धि हुँदा देखिएको उच्च प्रतिस्पर्धा, आयात गर्नुपर्ने कच्चा पदार्थ तथा चाहिने इन्धनमा हुने मूल्य उतार चढाव तथा वृद्धि र अर्थराजनीति तथा सरकारी नीतिको फितलोपन आदि कम्पनीका चुनौती रहेका छन् । अर्को चुनौती कम्पनी शतप्रतिशत सञ्चालनको लागि न्यूनतम् १२ मेगावाट विजुलीको आवश्यक छ । अहिले कम्पनी डिजेल तथा अन्य इन्धनको माध्यमबाट ९ मेगावाट उत्पादन गर्दै आएको छ । समय समयमा हुने गरेको अनियमित विजुली प्रवाहले लागत खर्च बढ्ने गरेको छ ।
वित्तीय विवरण
शिवम् सिमेन्टको चार वर्षको वित्तिय विवरण तथा चालू आवको तेस्रो त्रैमासको वित्तीय विवरण यस्तो छ ।
शिवम् सिमेन्टको चार वर्षको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७०/७१ मा १ अर्ब २५ करोडको चुक्ता पुँजी रहेकोमा २०७३/७४ मा चुक्ता पुँजी औसत रुपमा ६० प्रतिशतले वृद्धि गरी २ अर्ब ५० करोड पुर्याएको देखिन्छ । चालू आवको तेस्रो त्रैमाससम्म चुक्ता पुँजी ३ अर्ब ८७ करोड रुपैयाँ पुर्याएको देखिन्छ । खुद मुनाफा हरेक त्रैमासमा वृद्धिको क्रम देखिएता पनि स्थिर भने देखिँदैन ।
कम्पनीले आव २०७१/७२ मा ४१ करोड नाफा गरेको देखिन्छ । त्यसपछिको क्रमशः दुई वर्ष ७७ करोड तथा ८१ करोड मुनाफा गर्न गरेको थियो । यस वर्ष तेस्रो त्रैमाससम्म कम्पनी ९३ करोड ६६ लाख रुपैयाँ नाफा गरेको छ । शिवम्ले आम्दानीमा गरेको वृद्धि र बिक्री लागतलाई सन्तुलित गर्न सफल भए पश्चात कुल आम्दानीमा वृद्धि हँुदै गएको देखिन्छ ।
चालू आवको तेस्रो त्रैमासम्म कुल आम्दानी ७१० करोड ९३ लाख तथा लागत खर्च ४५८ करोड ४९ लाख रुपैयाँ देखिएपश्चात कुल आम्दानी २ अर्ब ५२ करोड रुपैयाँ गर्न सफल भएको थियो । कुल खर्च हेर्दा आव २०७०/७१ मा ९५ करोड रुपैयाँ बढेर आव २०७३/७४को सम्म आइपुग्दा १ अर्ब ४२ करोड रुपैयाँसम्म पुगेको देखिन्छ ।
चालू आवको तेस्रो त्रैमाससम्म कुल खर्चको आकार १ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुँजी बढेको अनुपातमा नाफा वृद्धि नहुँदा प्रतिशेयर आम्दानी भने कहिले बढ्ने, कहिले घट्ने त कहिले स्थिर रहेको देखिन्छ । यसै अवधिमा कम्पनीले आफ्नो थप चुक्ता पुँजी र जगेडा मध्येबाटै सहायक कम्पनी शिवम् होल्डिङ प्राइभेट लिमिटेड मार्फत होंड्सी शिवम सिमेन्ट उद्योगमा ठूलो रकम ३ अर्ब ३६ करोड लगानी गरेको र सोको प्रतिफल यसै वर्ष प्राप्त नहुने हुँंदा उतारचढाव देखिएको हो ।
आर्थिक वर्ष २०७०/७१ मा ८ दशमलव ६५ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी आव २०७१/७२ मा अत्याधिक वृद्धि गरी ३३ दशमलव २३ रुपैयाँ पुर्याएको छ । त्यस्तै आव २०७२/७३ मा १७ प्रतिशतले बढाएर ३८ रुपैयाँ ८९ पैसा पुर्याएको देखिन्छ । आर्थिक वर्षमा २०७३/७४ मा १७ प्रतिशतले घटेर ३२ दशमलव ४५ रुपैयाँमा झरेको छ । चालू आव २०७४/७५ को तेस्रो त्रैमासमा प्रतिशेयर आम्दानी १८ दशमलव १४ रुपैयाँ रहेको छ ।
चुक्ता पुँजीको वृद्धिको अनुपातमा कम्पनीले नाफा अनुपातमा भएको वृद्धिले प्रतिशेयर आम्दानी सन्तुलित देखिएको छ । आव २०७०/७१ मा प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६५ पैसा रहेकोमा त्यसपछि ३ वर्षमा ३२ रुपैयाँबाट घटेको देखिँदैन । चालू आवको तेस्रो त्रैमासमा कम्पनी प्रतिशेयर आम्दानी ३२ रुपैयाँ २५ पैसा रहेको थियो ।
जगेडा कोषको आधारमा कम्पनीले आव २०७०/७१ मा नेगेटिभ रहेको जगेडा कोष २०७१/७२ मा २४ करोड ४५ लाख जगेडा सञ्चित थियो । आवमा २०७२/७३ मा २६४ प्रतिशतले वृद्धि गरी ८९ करोड ६ लाख रुपैयाँ जगेडा राखेको थियो । त्यस्तै आव २०७३/७४मा ६७ प्रतिशतले वृद्धि गरी १ अर्ब ४९ करोड १४ लाख रुपैयाँ जगेडा राखेको छ । चालू आव २०७४/७५ को तेस्रो त्रैमासमा २ अर्ब १६ करोड रुपैयाँको जगेडा सञ्चित रहेको छ ।